
शेरबहादुर केसी
सुर्खेत, १३ बैशाख । मध्यपश्चिम विश्वविद्यालयमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफल बनाउन अहोरात्र खटिएका सम्मेलन व्यवस्थापन समितिका सदस्य, कर्मचारी तथा स्वयंसेवक विद्यार्थीहरूलाई खादा ओढाई प्रशंसापत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको छ।
सो अवसरमा डा. विष्णुकुमार खड्काद्वारा प्रकाशित “म बनाउँछु मेरो देश” कविता संग्रह स्वयंसेवकहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्वदेश तथा विदेशबाट सहभागी विज्ञ तथा पाहुनाहरूको स्वागत, सत्कार र सम्मानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने टोलीलाई उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवाली तथा स्वयंसेवक परिचालन उपसमिति संयोजक डा. लक्ष्मीप्रसाद आचार्यलगायतले सम्मान गर्नुभएको थियो ।
उपकुलपति गौतमले स्वयंसेवकहरूले गरेको उदाहरणीय कार्यप्रति गौरव व्यक्त गर्दै पछिल्ला दुई वर्षयता विश्वविद्यालयले उल्लेखनीय प्रगति गरेको र सहयोगी तथा शुभेच्छुकहरूको सकारात्मक भावनाले थप काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। त्यसैगरी रजिष्ट्रार कँडेलले नकारात्मकताको प्रभावलाई चिर्दै सम्मेलन सफल बनाउन समर्पित भएर खटिएकोमा स्वयंसेवकहरूको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो ।
