अन्तरराष्ट्रिय सम्मेलनको तयारी पूरा : २१ देशका प्रतिनिधिले भाग लिने

सुर्खेत, १० वैशाख

मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ को तयारी पूरा भएको छ । विश्वविद्यालयले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि शुभारम्भ हुने सम्मेलनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा वैशाख ११ देखि १३ गतेसम्म (अप्रिल २४–२६, २०२६) सञ्चालन हुने सम्मेलनमा पाँच सयभन्दा बढी सहभागीको उपस्थिति रहने जनाइएको छ । साथै विश्वका २१ देशका प्रतिनिधिले भाग लिनेछन् भने ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिनेछ । सम्मेलनका विभिन्न सत्रमा अन्तरविषयगत संवाद, राउण्डटेबल छलफलसमेत सञ्चालन गरिनेछ ।

“Interdisciplinary Synergies for a Sustainable Future in the Age of AI and Digital Transformation” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनले कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणसँग सम्बन्धित समसामयिक विषयमा गहिरो छलफल गर्ने अपेक्षा गरिएको सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीका अनुसार सम्मेलन सात प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहनेछ । ती क्षेत्रहरूमा कृषि तथा वातावरण, शिक्षा तथा मानव विकास, कानून तथा सुशासन, व्यवस्थापन तथा उद्यमशीलता, स्वास्थ्य, विज्ञान तथा इन्जिनियरिङ तथा सामाजिक विज्ञान तथा मानविकी रहेका छन् ।

उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, सेवा आयोगका अध्यक्ष प्रा. डा. पन्ना थापा, विश्वविद्यालय सभाका सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाललगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको तयारी तथा सहभागीबारे जानकारी सार्वजनिक गरिएको थियो ।

योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव विष्णुकुमार खड्काले सम्मेलनलाई उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य तथा नीति निर्माणमा टेवा पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताउनुभयो ।

प्रकाशित मितिः 2026-04-23     10:38:52 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *