राउटेलाई पहिलो पटक स्थायी परिचयपत्र


दिपेन्द्र शर्मा
सुर्खेत ३० असार,
पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ ।
कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका –८ स्थित पातलेखोलामा वसोवास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाँउपालीकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।
स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता पाउने गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीले वताउनुभयो । अध्यक्ष ओलीका अनुसार राउटे लाई प्रदान गरिएको स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ ।

राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । गाँउपालीकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले नियुक्त गरेका कर्मचारीहरु राउटे समुदाय जहाँजहाँ पुग्छ र वस्छ त्यहीँ, त्यहीँ पुगेर काम गर्ने अध्यक्ष ओलीले वताउनुभयो । दैलेखसहित,सल्यान, दाङ, अछाम, सुर्खेतलगायतका जिल्लामा बसोबास गर्ने सवै राउटे समुदायले अव दैलेखको गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उहाँले वताउनुभयो ।
राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले सरकारकारले परिचय पत्र भन्दा खानालाई खाद्यान्न र पैसा दिए आफुहरुलाई पेट पाल्न सजिलो हुने वताउनुभयो । सधै एकै ठाउँमा नवस्ने भएकोले परिचयपत्र भन्दा खाद्यान्न भए सजिलो हुने शाहीले वताउनुभयो ।
फिरन्ते जिवन विताइ रहेका राउटे समुदायमा ४२ घरमा एक सय ४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार राउटे समुदायमा एक महामुखियासहित चार जना मुखिया हुन्छन् । राउटे समुदायमा ६१ वर्षमाथिका १४ जना , ४१ देखि ६० वर्षसम्मका २० जना तथा १६ देखि ४० वर्षसम्मका ४४ जना रहेको अध्यक्ष अधिकारीले वताउनुभयो । त्यस्तै ८ देखि १५ वर्षसम्मका २४ जना र सात वर्षसम्मका ४७ जना बालबालिका तथा एकल महिलाको संख्या ११ जनाको रहेको अधिकारीको भनाई छ ।
आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको महामुखिया शाहीले वताउनुभयो । पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले परिचय पत्र भन्दा खाद्यान्न र पैसा भए आफुहरुलाई जिउन सजिलो हुने वताउने गरेका छन ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०७५     2:55:11 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *