कर्णालीको प्राथमिकतामा काम गर्नुपर्छ ः मन्त्री रावल


दिपेन्द्र शर्मा
सुर्खेत, १५ फागुन /कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायहरुले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय बहुपक्षीय नीतिगत छलफल’ कार्यक्रममा बोल्दै मन्त्री रावलले कर्णालीको आवश्यकतामा रहेर साझेदारहरुले काम गर्नुपर्ने धारणा राख्नुभएको हो । “विकास साझेदारहरुले सबै सरकारहरुको नीति भित्र रहेर काम लगानी गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “जसको अपनत्व सबै सरकारहरुलाई होस् ।”
संघ संस्थाहरुलाई प्रभावकारी समन्वय तथा कर्णालीको विकास र समृद्धिमा टेवा पुर्याउन प्रदेशमा सामाजिक विकास परिषद् गठन गरिने उहाँको भनाई थियो । संघमा रहेको समाज कल्याण परिषद् समाज विकास परिषद्मा रुपान्तरण हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले गैससहरुले पारदर्शी भएर काम गर्न पनि सुझाउनुभएको थियो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले साझेदार निकायहरुले प्रदेशको योजनाभित्र छिरेर मात्र लगानी गर्न आग्रह गर्नुभयो । बस्तीस्तरबाट छनोट भएर आएका योजनामाथि टेकेर काम गर्दा लक्षित वर्ग समेटिने भन्दै सरकारी तथा गैरसरकारी निकाय त्यसमा केन्द्रीत भएर जान उहाँले आग्रह गर्नुभयो ।
बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गैससले सञ्चालन गर्ने कार्यक्रमहरुलाई गरिबमैत्री हुनुपर्ने बताउनुभयो । योजना र कार्यक्रमलाई दोहोरोपन हुन नदिन तीन तहका सरकारबीच उचित समन्वय भएमात्र कर्णालीको गरिबी अन्त्य गर्न संभव हुने उहाँको धारणा थियो । उहाँले गोष्ठी, भत्ता र परम्परागत ढाँचामा बजेट तथा कार्यक्रमलाई सीमित नराखी रुपान्तरित ढंगबाट अघि बढ्न साझेदार निकायहरुलाई आग्रह गर्नुभएको थियो ।
यता गैसस महासंघ नेपालका महासचिव रामप्रसाद सुवेदीले राज्यले गैससलाई उचित पहिचान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालको व्यवस्था परिवर्तनमा गैससको अहम् भूमिका रहेको जिकिर गर्दै महासचिव सुवेदीले अब मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तनको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा दिगो विकास लक्ष्य, खानेपानी र सरसफाई विषयमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दिपेन्द्र रोकाया, दिगो विकासका लक्ष्य सम्बन्धी गैरसरकारी संस्था महासंघ नेपालका भावना भटट र गोविन्द श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको महासंघ कर्णाली प्रदेशका सचिव हरिप्रसाद अधिकारी जानकारी दिनुभयो । उहाँ अनुसार कार्यक्रममा कर्णाली १० वटै जिल्लाका गैसस कर्मीहरु लगाएतका सरोकारवालाको सहभागीता रहेकोछ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     9:51:39 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *