मध्यपहाडी लोकमार्गको यात्राः मुक्तिनाथ हुँदै कोरोला नाकासम्म


मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागको शैक्षिक भ्रमणका लागि हामीले गण्डकी प्रदेशका महत्वपूर्ण ठाँउहरुमा जाने योजना बनायौं । सोही योजना अनुसार हामी र हाम्रो विभागसँग सम्बन्ध राख्ने तथा अन्य समसायिक महत्वका ऐतिहासिक दृश्यहरुको अध्ययन तथा अवलोकन गर्ने योजना अनुसार हामी गण्डकी प्रदेश पुग्नका लागि मध्यपहाडी (पुष्पलाल) राजमार्ग हुँदै जाने निश्चित गरेर साताब्यापी भ्रमणका क्रममा निस्कियौं । हामीले यो भ्रमणलाई २०७९ चैत्र २५ गतेदेखि २०८० वैशाख १ गतेसम्म लम्ब्याएका थियौं । किनकी यो भ्रमण केवल विश्वविद्यालय भित्र मात्र सीमित थिएन । विश्वविद्यालयमा अध्ययन गरेका विभिन्न विषयवस्तुहरुलाई भौतिक आँखाले अध्ययन गरी वास्तविकता र यथार्थता बुझ्न झन् जरुरी थियो । त्यसैले हामीले गण्डकी प्रदेशतर्फको यात्राको क्रममा विकास, पर्यटन, शिक्षा, सञ्चार, आर्थिक, सामाजिक, साँस्कृतिक विभिन्न विषयवस्तुहरुलाई नजिकबाट नियाल्ने अवसर प्राप्त ग¥यौं । यात्राका क्रममा हामीले विभिन्न विधिहरु प्रयोग गरेर हाम्रो उद्देश्य पूरा गर्ने विषयलाई केन्द्रविन्दुमा राखेका थियौं ।

अध्ययन टोली २०७९ चैत्र २५ गते सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चु–जाजरकोट सडक खण्डको सल्यान, पुर्वी सुर्खेत हुँदै जाजरकोटको कुदुमा पुगेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) का बारेमा थोरै सात्क्षात्कार गरेर छिन्चु–जाजरकोट सडक हँुदै जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गा बजार पुग्यौं । खलङ्गा बजारमा थोरै समय बिताउँदै हामी रिम्नातर्फ अघि बढ्यौं, जहाँ डोल्पा–जाजरकोट राजमार्ग भएर रिम्ना पुगिन्छ । यो स्थान खासगरी माओवादीले शुरु गरेको १० वर्षे जनयुद्धका समयमा निकै चर्चामा आएको ठाउँ हो । जनयुद्ध कालमा यस गाँउका २८ जनाले ज्यान गुमाएका थिए । रिम्ना यतिवेला भेरीको तिरैमा आफुलाई राखेर आफना दुःख पिडालाई भुलाएर समय कटाउँदो रहेछ ।

नेपालमा उत्तरतर्फ बग्ने नदी मध्येको एक शुरुमा उत्तरगंगाको नामबाट आफूलाई चिनाउँदै पछि डोल्पा मुहान भएर आउने ठूलीभेरीसँग आत्मीयता गाँस्दा सानीभेरी भएर सलल बगेको भेटिन्छ । यो नदी पर्यटकीय गाँउ रिम्ना भएर ठूलीभेरी सँगसगै अघि बढ्दो रहेछ । यस ठाँउलाई रिम्ना दोभान पनि भनिन्छ । रिम्नाको सामान्य जानकारी जानेपछि डोल्पा–जाजरकोट राजमार्गबाट हामी कुदुमा छोडेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल) सँग भेट्न आतुर हुँदै पश्चिम रुकुमको सानीभेरी गाँउपालिकाको गराइलाको कच्ची सडकमा एकोहोरो अघि बढिरह्यौं । गाडीमा कुनै साङ्गेतिक धुन नबजे पनि सानीभेरी नदिको तिरैतिर आफूलाई नचाउँदै र रमाउँदै हामी सिम्ली नजिक पुगेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई पछयाउन थाल्यौं ।


केही समयको यात्रापछि रुकुम प्रवेश गरेसँगै मेरा अनन्य मित्र नेपाल पत्रकार महाँसंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले आफनो जिल्ला भरी हाम्रो यात्रालाइ केही सहजीकरण गरिदिनुभयो । हामी पश्चिम रुकुमको मुसिकोट हुँदै नेपालको कान्छो जिल्लाको रुपमा चिनिएको रुकुम पूर्वको सदरमुकाम रुकुमकोट पुग्यौं । रुकुमकोटलाई पहिला तत्कालिन राजाको बहिनीको नामबाट गाविसको नाम शोभा राखिएको पाइन्छ पछि यस गाविसको नाम परिवर्तन गरेर रुकुमकोट राखिएको रहेछ । रुकुम पूर्वको कमलदह जुन हाल सिस्ने गाँउपालिकाको केन्द्र पनि यही रुकुमकोटमा पर्दछ । हामी कमलदहको समिपमा पुग्दा त्यहाँ हामीलाई न्यानो आतिथ्यताका लागि पर्खिरहनुभएका नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष सर्जना कार्की सहितका पत्रकारहरुसँग कमलदहको काखैमा बसेर रुकुम पूर्वको जानकारी र रुकुम पूर्वको पत्रकारिताका बारेमा अन्तरक्रिया तथा छलफल ग¥यौं । हामीले सोही क्रममा मध्यपश्चिम विश्वविद्यालयमा पत्रकारिता र आमसञ्चारको अध्ययन र यसका सम्भावनाका बारेमा समेत गफ गर्न भ्यायौं । रुकुम जिल्ला एउटै हुनेवेला पहिला रुकुमको सदरमुकाम यही रुकुमकोटमै थियो रे । मुसिकोट तिरका नेता शक्तिमा भएको वेला जिल्लाको सदरमुकाम पश्चिम रुकुमको मुसिकोटमा सारिएको भन्ने थाहा पायौं । जसका कारण पनि नयाँ सविधान जारी भएपछि यो जिल्ला छुट्टै जिल्लाको रुपमा अस्तित्वमा रहेको थाहा भयो ।

रुकुमकोटको कमलदहको हरियो दुँबोमाथि बसेर गरिएका मिठा भलाकुसारी पछि हामी त्यसस्थानबाट विदा भएर गुरिल्ला पदमार्गको अवलोकन गर्दै भूमेगाँउपालिकाको केन्द्र खावाङबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई छोडेर भूमे गाँउपालिकाको महतगाँउतर्फ लाग्यौं ।

जहाँ तत्कालिन उपराष्ट्रपति तथा जनासेनाका कमाण्डर नन्दकिशोर पुन (पासाङ) नेतृत्वमा महत गाउँमा रहेको प्रहरी चौकी माथि गरिएको आक्रमणको तयारी र अवस्थाका बारेमा युद्धस्मारिका स्थल नै बनेको छ । उक्त युद्धस्मारिका स्थल हेर्नका लागि हामी महतगाउँतर्फ हानियौं । तत्कालिन समयमा यो महतगाउँ निकै चर्चाको विषय पनि बनेको थियो ।

माओवादीले आफनो युद्ध अवधिका समयमा लडाइमा गरेको महत्वपूर्ण सफलता मध्येको एउटा महत गाउँ पनि थियो । जहाँ तत्कालिन समयमा सरकारी सुरक्षा निकायको सबैभन्दा उच्च ओहदाका व्यक्ति डिएसपी ठुले राइलाई कब्जा गरिएको थियो । जनमुक्ति सेना नेपालद्वारा २०५६ साल असोज ५ गते महत प्रहरी चौकीको सफल आक्रमण पछि तत्कालिन डिएसपी ठुले राइलाई युद्धवन्दी नेकपा माओवादीका तत्कालिन केन्द्रीय सदस्य (हालका महासचिव) देव गुरुङसँग साटेर रिहाइ गरेकोले पनि महत चर्चामै रहेको थियो ।


महत प्रहरी चौकीको आक्रमण सम्बन्धी वास्तविक र ऐतिहासिक घटनालाई परिकल्पना गरेर बनाइएको युद्धस्मारिका स्थल रहेको युद्ध स्मारकका साथै महत प्रहरी चौकी र चौकी कब्जाको स्टयाचु अहिले पनि सजिलै अवलोकन गर्न सकिन्छ । यो युद्धस्मारिका स्थल अझ भनौं, युद्ध पर्यटन र युद्ध पत्रकारिता गर्नेहरुलका लागि त झन् अवलोकन गर्नै पर्ने स्थान हो । जहाँ गुरिल्ला मार्ग, विगत द्वन्द्वको समयमा यो गाँउमा भएका युद्ध अभ्यासका बारेमा स्थानीयहरुसँग सजिलै जानकारी लिन सकिन्छ । हामीले पनि युद्धस्मारिका स्थलको गहिरो स्थलगत अध्ययन र स्थानीयसँग आवश्यक जानकारीमुलक छलफल गर्न भ्यायौं । यतिवेलासम्म हामीलाई साँझपखको समयले हतार बनाइरहेको थियो । तर पनि हामीले युद्धस्मारिकाका बारेमा स्थलगत अध्ययन गर्न कुनै हतार गरेनौं । बरु हामीसँग भएका मेबाइल र क्यामेराहरु तेस्र्याउँदै फोटो, भिडियो र टिकटक बनाउन समेत भ्यायौं ।


समयले नेटो कोटिसकेको भए पनि महतगाउँबाट करिव २०÷२५ मिनेट नजिकै रहेको तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थवाङ्ग गाँउ हाम्रा लागि अर्को उत्सुकको स्थान थियो । यति टाढा आइसकेपछि उक्त ठाउँ नहेर्नु हाम्रालागि पछुतो शिवाय केही थिएन । अध्याँरो भइसकेको थियो रोल्पाको थवाङ्ग जाने र नजानेबीचको मतान्तरका बीचमा अध्याँरो भए पनि हामी थवाङ्गतर्फ लाग्यौं ।

हामी उक्त गाँउमा पुग्दा अध्याँरो भइसकेको थियो तर पनि बत्तीको झिलिमिलीले थवाङ गाँउको सन्ध्याकालिन दृश्य हे¥यौं । तत्कालिन समयमा माओवादीले यही थवाङ्ग गाउँलाई कसरी जनयुद्ध कालको उद्गमस्थल बनयो अरु स्थानमा किन बनाएन जस्ता कौतुहलताका बीचमा छोटो समीक्षा गर्न समेत भ्यायौं । यस विषयमा हामी यात्राका सहभागीहरुका आ–आफ्नै खालका मत थिए । ‘जे होस् रोल्पाको थवाङ्गमा समेत पाइला टेकियो’ सहभागी मध्ये एकजनाको आवाज सुनियो । ‘रोल्पाको थवाङ्गमा समेत पुगेको छु भन्न पाइने भयो’ फेरि अर्को यात्रीको आवाज आयो ।
हामी त जलजला हिमालको तलपट्टी, थवाङ्ग गाँउको पारीपट्टि पुगेर थवाङको ऐतिहासिकता बारे छलफल गरिरहेका रहेछौं । यो सबै वातावरणको वन्दोबस्त सहभागी अरुभन्दा म अलि जानकार भएकाले मैले नै मिलाएको थिएँ । कम्युनिष्टको बलियो छाप रहेको थवाङ्ग गाँउको आफ्नो फरक पहिचान रहेको पाइयो । बहुदल र पञ्चायतमा निर्वाचनका समयमा ‘नो भोट’ गरेर चर्चा कमाएको यो थवाङ्ग गाँउ माओवादी जनयुद्धको उद्गम थलो भएपछि यस गाउँलाई माओवादीले राजधानी बनाउँछ भनेर थुप्रै अनुमान गरिएको थियो । तर माओवादीले धेरै पटक सरकारको नेतृत्व सम्हाले पनि राजधानी बनाउने कुरा गरेको कहिल्यै सुनिएन ।


विसं. २०६४ सालको पहिलो सविधानसभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डले यही क्षेत्रलाई रोजेर चुनाव निर्वाचन लडें । त्यसैले पनि रोल्पाको थवाङ्ग निकै चर्चामै रह्यो । पछि उपचुनावमा प्रचण्डले यो क्षेत्र छोडेर काठमाडौं रोजे । विसं. २०७० सालमा भएको दोस्रो सविधानसभाको चुनावमा थवाङले माओवादी विभाजन पछि आफनो समर्थन मोहन बैद्य नेतृत्वको पार्टीलाई ग¥यो । यो निर्वाचनमा थवाङ्गबासीहरुले फेरि ‘नो भोट’ गरेर पहिलाको इतिहासलाई निरन्तरता दिए । निर्वाचनमा एउटा भोट पनि खसेन । तर चुनावमा भने केही अवरोध भएन । सन्ध्याकालिन समय भएकाले हामीसँगै रहनुभएका अग्रज दाजु प्रेम खड्काले जनयुद्धको उद्गम थलो हेर्न युद्ध स्टाइलको तरिकामा रातिमा ल्याएको भनेर ब्यङ्ग्य गर्नुभयो । नाम मात्र थवाङ सुनेका हाम्रो टिमका अन्य सदस्यहरुले प्रत्यक्षरुपमा देख्न पाएकोमा खुशी ब्यक्त गरे । हामी महतगाउँ हँुदै मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई पछयाउँदै लुकुम हँदै बाग्लुङ जिल्लाको वुर्तिवाङमा पुग्दा रातिको करिब ११ बजिसकेको थियो ।


मध्यपश्चिम विश्वविद्यालय, ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्स अन्तरगत सामाजिक कार्य, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख उप–प्राध्यापक खगेन्द्रप्रसाद अधिकारी, उप–प्राध्यापक भानुभक्त अधिकारी र उप–प्राध्यापक त्रिभुवन बिसी यात्रामा सहभागी हुनुहुन्थ्यो । यस विभाग अन्तरगत स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत वीरेन्द्रबहादुर केसी, प्रेमप्रकाश खड्का, चिरन्जीवी गैरे र दिलिपकुमार शाही र म दिपेन्द्र शर्मा यात्रामा सहभागी थियौं । यात्राका सहभागी सबैको आपसी मेलमिलाप, सहकार्य र समन्वयका कारण हाम्रो यात्रा निकै सहज र रमाइलो बनेको थियो । हाम्रो यात्राका सहभागीहरुका लागि मध्यपहाडी लोकमार्ग (पुष्पलाल) नयाँ थियो । अरुभन्दा थोरबहुत जानकारी भएको म नै थिएँ । त्यसैले पनि कहाँ जाने, के गर्ने भन्ने बारेको व्यवस्थापन सबै सहभागीहरुको समन्वय र सल्लाहमा मैले गरिरहेको थिए । हाम्रो यात्रालाई सहजै गन्तब्यसम्म पु¥याउने जिम्मा लिएका सबैभन्दा कम उमेरका गुरु (सवारी चालक)ले वेलावेलामा मैले भन्न बिर्सेका र नजानेका ठाँउहरुको जानकारी दिएर यात्रालाई थप रमाइलो र यादगर बनाइरहेका थिए ।


बाग्लुङ जिल्लाको वुर्तिवाङबाट गलकोट नगरपालिकाको हटियामा रहेको रेडियो गलकोटको अवलोकनसँगै सामुदायिक रेडियोले भोग्नु परेका समस्या तथा रेडियोले समुदायमा पारेको सकरात्मक प्रभावका वारेमा रेडियाका प्रतिनिधसँग छोटो अन्तरक्रिया गरेर वाग्लुङ वजार हँुदै हामी म्याग्दीको बेनीतर्फ अघि बढ्यौं । बेनीमा हामीलाई स्वागत गर्नका लागि नेपाल पत्रकार महाँसघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका साथिहरु तयारी अवस्थामा थिए । म्याग्दीका पत्रकार साथीहरुको आथित्यतालाई स्वीकार्दै हामीले पत्रकारिताको वर्तमान अवस्थाका बारेमा अनुभव आदान–प्रदान मात्रै गरेनौं एकआपसमा चिनाजान समेत ग¥यौं ।
म्याग्दीका पत्रकार साथीहरुसँगको भेटघाट पछि हामी म्याग्दीको बेनीबाट कालिगण्डकीको तिरैतिरे शालिग्रामसँग नजिकिदै हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङको यात्रामा अघि बढ्यौं । समयमै जोमसोम पुगेर चिनसँग जोडिएको कोरोला नाकामा जानका लागि अगाडिको यात्रा गर्ने हाम्रो योजनामा ब्रेक लाग्यो रुप्से झरनामा पुगेर ।

सडक अवरुद्ध भएका कारण हामीले करिब २ देखि ३ घण्टा बाटोमा नै समय बिताउनुप¥यो । त्यो ठाँउमा यात्रा गर्नका लागि निश्चित समय तोकिएको हुँदो रहेछ । मुस्ताङतर्फ जानेहरुका लागि बाटो निमार्णको काम रोकेर केही समय आवत–जावत गर्ने समय निर्धारण हुँदो रहेछ । लामो समय रोकिएपछि मलाई मेरो गृह जिल्ला जाजरकोट जानको लागि सल्यानको सल्लीबजार र सुर्खेतको सिम्ता राकम बीचमा भेरी नदिको पुल लामो समयसम्म नबन्दा फेरी मार्फत यात्रा गर्नुपथ्र्यो । पालो कुरेर फेरीमा भेरी नदी तर्नु कम्ति सास्ती थिएन । मैले सोचें भेरीको त्यो पुल बनाउने र यो बाटो बनाउने निमार्ण ब्यवसायी एकै परेछकी क्या हो, कति सुस्त काम गरेको ?

 

सडक खुलेपछी कच्ची बाटोमा कतिवेला अगाडि, पछाडी त कतिवेला तल माथि गर्दै अघि बढ्यौं । कोरोला नाकामा जानका लागि हामीले कागवेनीलाई उछिनेर छुसाङ पुगेर बास बस्यौं । भोलिपल्ट बिहानै ६ बजे नै उठेर हामीले उपल्लो मुस्ताङको यात्रा तय ग¥यौं । बिहानको समयमा खाली पेटमा समस्या होला भनेर हामीले छुसाङमा बास बसेको होटेलबाट आलु उसिनेर लिएका थियौं । बाटोमा यतायता गरेर अल्मलिँदा ढिलो हुने र नाकामा समयमा पुग्न नसक्दा समस्या हुने थाहा पाएकाले जाँदा ढिलो नगर्ने बरु समय भएमा फर्किदा रमाइलो गर्दै आउने सहमती भए अनुसार हामी सिधैं कोरोला नाकातर्फ उक्लियौं ।

जति जति हामी उत्तरतर्फ गइरहेका थियौं हामीले हेर्दा उत्तरतर्फ देखिने हिमाल दक्षिणतर्फ देखिरहेका थिएँ । त्यसैले हिमालपारीको जिल्ला भनेको रहेछ भनेर हामीले भन्न कुनै समय पर्खिनु परेन । हिमालपारीको जिल्ला अझभन्दा चिनसँग जोडिएको ठाँउमा जानका लागि जति माथि पुग्यो उति रमाइलो र मनोरम दृश्य देखिन थाले पछि हामी सबैले केही फोटो र भिडियो नलिइरहन सकेनौं । हामीसँगै रहुनुभएका भानुभक्त अधिकारी सरको मन थाम्न गारो भयो होला । ऊहाँले दिपेन्द्र पिलिज थोरै तस्वीर लिऊ, थोरै भिडियो लिऊँ अनि जाउला भन्नुभयो ।

नियम हामी आफैले कडा बनाएकाले सरले आफै उलङ्घन गर्ने आँट गर्नुभएन । सँगै रहनुभएका त्रिभुवन बिसी सरले आपूmले रोकौं नभने पनि रोकिएको भए राम्रो हुने मनसाय देखाउनुभयो र विहानको हिमालको सुन्दर दृश्य कैद गर्न मिल्ने आसय घुमाउरोमा अभिब्यक्त गनुभयो । अनि मैले पनि छोटोमा गाडी रोकेर एकैछिन भएपनि फोटो र भिडियो लिनका लागि सहमति जनाए पछि हामी सबैले धौलागिरी र अन्नपूर्ण हिमालका सुन्दर तस्वीर र भिडियो क्यामेरा र मोबाइलमा कैंद मात्र गरेनौं टिकटक बनाउन समेत भ्यायौं ।


जति माथि जान्छा,ै उति अक्सिजनको कमीको महशुस हुँदै जान थालेको महशुश हुन थालेको थियो । अल्छी लागेर हो या, त्यसो भएरै हो गाडी चालकले गाडीलाई पनि अक्सिजन चााहिन्छ, ढिलो नगर्नु भन्दै गाडीलाई बन्द नगरेरै रोके । त्यसले गर्दा हामीलाई फोटो र भिडियो छिटो खिच्नका लागि दवाव भयो । अनि हामी छिटो छिटो फोटो र भिडियो खिचेर कोरोला नाकातर्फ बढ्यौं ।


चिन र नेपालको सीमाना कोरोला नाकामा पुगेर हामीले निक्कै बेर फोटो र भिडियो खिच्यौं । त्यहाँ थुप्रै नेपाली र केही भारतीयहरु पनि हामीले भेट्यौं । चिनतर्फको भवन र बाटो पिँच भएको हामीले पायौं भने केही वर पर सम्म तारबार गरेर चिनतर्फ जानका लागि प्रवेश निशेष गरिएको हामीले थाहा पायौं । चिनतर्फका कोही पनि कतै देखेनौं बरु चिनतर्फबाट सिसिटिभीबाट सबै कुराको अवलोकन र अनुगमन गरिरहेकाले कोही पनि बाहिर नदेखिने हामीले बुझ्यौं ।

 

हामीले एक आपसमा चिनतर्फको विकास र नेपाल तर्फको विकासका बारेमा गफगाफ ग¥यौं । र हामीले यो पनि भन्न भ्यायौं कि कोरोला नाकालाई चिन सरकार र नेपाल सरकारले खुला गरेर नेपालको विकासका लागि चिन सरकारसमक्ष हात फैलाउँदा राम्रौ हुने आशय पनि खुलेर चर्चा ग¥यौं ।


अघिसम्मको उकालो यात्रा कोरोला नाकाबाट फर्किएपछि अब ओरालोतर्फ शुरु भएको थियो । उपल्लो मुस्ताङको लोमाङ्थान हँुदै कोरोला नाकाको भ्रमण गरेर हामी लोमान्थान फर्किएर खाना खायौं । माथिल्लो मुस्ताङमा रहेको छुसेल गुफा, बाटोमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको अध्ययन तथा अवलोकन गर्दै लोमान्थानबाट मुस्ताङ्गी राजाको दरबार तथा त्यहाँ रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन गर्दै हामी मुक्तिनाथ दर्शनका लागि ओरालो झ¥यौं । रात परिसकेकाले कागवेनीमा बस्ने व्यवस्था हुन नसकेपछि हामी मुक्तिना मन्दिर भएको स्थान नजिकै बस्ने निधोका साथ कागवेनीबाट मुक्तिनाथ मन्दिर नजिकैको बजारमा उक्लियौं ।


भोलिपल्ट बिहानै हिन्दूहरुको महत्वपूर्ण धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि हामी सबै बिहानको कठ्याङ्ग्रीदो चिसोलाई बेवास्ता गर्दै मुक्तिनाथ दर्शनका लागि आवश्यक सामान किनेर मन्दिरतर्फ लाग्यौं । हिमालको काखमा मन्दिर, चारैतिर सेतै हिउँ नै हिउँले भरिएको हिमाल देख्दा स्वर्गमा पुगेको अनुभव हुन्थ्यो ।


हामीले मुक्तिनाथ मन्दिर लगायत वरपरका विभिन्न मन्दिर, गुम्बा लगायतका रमणीय स्थानको दर्शन तथा अध्ययन अवलोकन गरिसकेपछि स्याउको गाउँ भनेर चिनिने मुस्ताङ्गको मार्फागाउँमा पत्रकार तथा स्थानीयसँग यहाँको स्याउको उत्पादन र बजारीकरणको बारेमा अध्ययन गर्ने मौका पायौं ।
समयको बेगलाई पछ्याउँदै हामी रुप्से झरनाको जामलाई छिचोल्दै म्याग्दीको बेनी बजारमा क्षेत्री समाजद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा छोटो समयका लागि सहभागी भयौं ।


म्याग्दीको बेनीबाट हामी वाग्लुङ्ग, पर्वत हुँदै पोखरा पुग्ने योजनाका साथ अघि बढेका थियौं । सोही योजनाअनुसार हामी बाग्लुङ्गको कालिका मन्दिरमा पुग्दा रात परिसकेको थियो तर पनि हामीले मन्दिर परिसरमा अवलोकन गरेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) हुँदै नेपाल पत्रकार महासंघ पर्वत शाखाको आथित्यतामा पर्वत जिल्लाको कुश्मा बजारमा पुगेर रोकियौं । नेपाल पत्रकार महाँसघका केन्द्रीय सदस्य मित्र छविलाल तिवारी, पर्वत शखाका अध्यक्ष सन्तोष थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका निवर्तमान महासचिव गणेश पौडेलसँग आत्मीयतापूर्ण भेटघाट भयो । म कर्णालीको महासचिव हुँदा गणेश पौडेल गण्डकीको महासचिव हुनुहुन्थ्यो ।

त्यसैले पनि उहाँसँग मेरो पूरानो चिनाजान र सहकार्य थियो नै । उहाँहरुको आतिथ्यतामा हामी रमाइलो गर्दै बसिरहँदा सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्युका प्रेस सल्लाहकार अग्रज दाजु दुर्गाप्रसाद शर्मा पनि हामी आएको जानकारी पाएपछि आइपुग्नु भयो । दाईको आगमनले हाम्रो बसाइँ अझ भब्य र थप रमाइलो भएको महशुस ग¥यौं । पर्वतका पत्रकार साथिहरुको न्यानो आतिथ्यतालाई हामी कहिल्यै पनि बिर्सन सक्दैनौं । मित्र गणेश पौडेलको सहजीकरणमा पर्वत कुश्मा र वाग्लुङ्ग जिल्ला जोड्ने पुल तथा बन्जीजम्पको अवलोकन तथा अध्ययन ग¥यौं ।

यस बीचमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य जो यस अघि कर्णाली प्रदेशको मुख्यमन्त्रि कार्यालयको सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो उहाँसँग भेटघाट गर्ने समय तय गरिसेकेका थियौं । प्रमुख जिल्ला अधिकारी आचार्य र हाम्रो यात्राका सहभागी उप–प्राध्यापक त्रिभुवन बिसीको गाउँ एउटै भएको र यात्राका सहभागी वीरेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी आचार्य मुख्य मन्त्रीको कार्यालय कर्णाली प्रदेशमा सँगै कार्यरत भएकाले समेत हामीलाई भेटघाटको चाँजोबाजो मिलाउन खासै समस्या भएन । प्रमुख जिल्ला अधिकारी आचार्यज्यूसँग छोटो भेटघाट, चिनाजान र चिया गफ पछि एकै छिन तस्विर लिएर हामी आफ्नो बाटोतर्फ लाग्यौं ।


पर्वतबाट हामी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीसँगै पोखरातर्फ प्रस्थान ग¥यौं । कास्की जिल्लाकोे साराङ्गकोटबाट पोखराको दृश्य अवलोकन गर्दै पोखरामा रहेको विन्दावासिनी मन्दिर, फेवातालको बीचमा रहेको तालबराही मन्दिरको दर्शन तथा डुङ्गाको सयर गर्दै फेवातालको भ्रमण गर्ने अवसर मिल्यो ।

माछापुच्छेको छायाँ देखिनेगरी फेवातालबो बीचमा रहेको तालबाराही मन्दिरमा हामीले फोटो पत्रकारिताका बारेमा उप–प्राध्यापकद्वय त्रिभुवन बिसी र भानुभक्त अधिकारीले सहभागी सबै विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराउनुभयो ।


पोखराको बसाइँलाई छोट्याउँदै हामी पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल) हुँदै तनहुँको रुपाकोट र लमजुङको सुन्दरबजार हुँदै सदरमुकाम बेशीशहर पुग्यौं । बेशीशहरमा नेपाल पत्रकार महासघका निवर्तमान केन्द्रीय सदस्य नविन कुइँकेल लगायतका पत्रकार साथीहरुसँग भेटघाट र छलफल गरेर हामी बहुचर्चित होमस्टे लमजुङको घलेगाउँतिर लाग्यौं ।

घलेगाँउमा आफुखुशी भन्दा होमस्टे ब्यवस्थापन समितिको सचिवालयमा पुगेपछि मात्र थाहा भयो हामी समितिले आउने पाहुनालाई स्वागत गरेर तोकेको घरमा बास बस्नुपर्ने रहेछ । सोही अनुसार हामी २० नम्बरको घरमा बास बस्यौं । दिनभरीको थकान र चिसो वातावरणले समयमै निदाउनु हाम्रा लागि अनिवार्य थियो र ग¥यौं पनि त्यसै । त्यहा गाउँमा पाहुनाका लागि साँस्कृतिक साँझ हुँदो रहेछ तर हामी थकित भएकाले उक्त साँस्कृतिक साँझमा सहभागी हुन सकेनौ ।

दक्षिण एशियाको नमुना गाउँ तथा स्मार्ट भिलेज घलेगाउँ, देशको पहिलो सुखी गाउँ बन्न सफल घलेगाउँ लमजुङको भ्यु टावरबाट सनराइजको अवलोकन गर्दा घलेगाउँ साच्चिकैको घलेगाउँ रहेको महशुश भयो ।

घलेगाउँमा रहेको चिया बगान, मन्दिर, पदमार्ग, पर्यटकीय गाउँको पैदल यात्रा गरेरै अवलोकन गर्ने अवसर प्राप्त भयो । होमस्टेका बारेमा राम्रा कामहरु, यहाँको कला, सँस्कृति जगर्ना, होमस्टेले भोग्नुपरेका समस्या र समधानका उपायका बारेमा सरोकारवालासँग छलफल गर्ने अवसर प्राप्त ग¥यौं ।


घलेगाउँबाट विदा भएर पोखराको बेगनास तालको अवलोकन गरेर हामी पोखराबाट स्याङजाको पुतलीबजार, वालिङ हुँदै पाल्पाको तानसेन, सिद्धबाबा भएर बुटवल झ¥यौं ।

नयाँ वर्षको अवसरमा सबैलाई घर पुग्नुपर्ने बाध्यता थियो । बाटो र समयले गर्दा हामी नयाँ वर्ष २०८० वैशाख १ गते विहानी पखमात्र सुर्खेत पुग्यौं । यो यात्रा, त्यो समय अनि यादगर ती दिनहरु मानसपटलमा ताजै राखेर हामी सबै आ–आफ्नो घर तर्फ लाग्यौं ।


यात्राको क्रममा मलाइ बिर्सन नसक्ने केही सम्झना रहेका छन् ती हुन्, हामी सबैका प्रिय दाजु प्रेमप्रकाश खड्कालाई यात्रा भरी समयमै हिंडाउन कहिल्यैं पनि सकिएन तर पनि यात्रामा दाजुको रमाइलो ब्यवहारले हामी सबैलाइ खुशी नै तुल्यायो । त्यस्तै दिलिप भाइको ‘सररर’ भन्ने थेगो पनि कम्तीको चर्चा भएन । यात्रामा नयाँ कुरा सिकेको मैले अको कुरा चिरण गैरेको सिरानी पनि एकदम स्मरण योग्य नै भयो । अर्को रमाइलो पल भनेको यात्राका क्रममा गाडीमा लामो दुरीमा थकान लाग्ने पछाडी वस्नेलाई समस्या हुने भएपछि पालैपालो सिट परिवर्तन गर्ने गरिएको थियो । संयोग मैले शुरु देखिको सिट परिवर्तन गर्नुपरेन जसको लागि भ्रमण टोलीले मलाइ बहुमूल्य छुट दियो ।

यात्रामा शिक्षक विद्यार्थी भन्दा पनि एक असल सहकर्मी जस्तो ब्यवहार गरेर हाम्रो यात्रालाई थप रोचक बनाउनुहुने खगेन्द्रसर, भानुभक्तसर र त्रिभुवन सरप्रति उच्च सम्मान छ । साथै उमेरले जो भएपनि अतुलनीय सहयोग गर्ने सबै भ्रमण टिमलाइ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।


अध्ययनका क्रममा सुझावहरु दिन मन लाग्यो जुन कुरा देहाय वमोजिम प्रस्तुत गरेको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) को स्तरोउन्नति गर्न नेपाल सरकारले प्रयाप्त बजेटको ब्यवस्था गरे यसले सबैभन्दा कर्णालीबासीलाई काठमाडौं यात्रामा सहज र छोटो हुनेछ । त्यस्तै म्याग्दी बेनीदेखि मुस्ताङको जोमसोम हुँदै मुक्तिनाथ, लोमाङथान, कोरोला नाकासम्मको सडकलाई ब्यवस्थित गरेर चिनसँगको नाका खुलाइ ब्यापार वृद्धिमा ध्यान दिनसके आर्थिक उपार्जनको बाटो बलियो हुने देखिन्छ ।

दक्षिण एशीयाको नमूना गाउँ तथा स्मार्ट भिलेज घलेगाउँ, देशको पहिलो सुखी गाउँ बन्न सफल भएको अवस्थामा यसमा सहज यात्राका लागि सडक, बिजुली, खानेपानीको प्रयाप्तताका लागि सरोकारवालाहरुको ध्यान केन्द्रित हुन आवश्यक छ ।


लेखक ः नेपाल पत्रकार महाँसघका केन्द्रीय सदस्य हुन ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०८०     7:29:49 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *