मध्यपश्चिम विश्वविद्यालयका परिक्षा प्रमुख सहित ६ जनालाई कारवाही


दिपेन्द्र शर्मा
सुर्खेत, १५ पुष/ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परिक्षा प्रमुख सहित ६ जना कर्मचारीलाई कारवाही गरेको छ । विश्वविद्यालयले परिक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारवाही गरेको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख सहित ६ जना कर्मचारीहरुलाई कारवाही स्वरुप निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दवहादुर सिंहले जानकारी दिनुभयो ।

शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको विश्वविद्यालयको विस्तारितहलमा पत्रकार सम्मेलनको आयोजना गरेर कर्मचारीहरुलाई कारवाही गरिएको जानकारी दिनुभएको हो । “ कमजोरी भएको छ, त्यही कमजोरी भएको देखिएकोले संलग्नलाई तत्काल निलम्बन पनि गरिएको छ, अव आउदा दिनमा यस्ता घटना हुन नदिन विश्वविद्यालय सचेत रहेको छ” उहाँले भन्नुभयो । विश्वविद्यालयले क्यालेण्डर वनाएर आफनो शैक्षिक कामहरु गर्दै आएको वेलामा परिक्षाको मर्यादा नै कमजोर वनाउने गरि प्रश्नपत्र बाहिरिनु दुखद भएको भन्दै उपकुलपति सिंहले छानविन प्रतिवेदन अनुसार जोसुकै दोषि होउन कारवाही हुने र कसैले उन्मुक्ती नपाउने जिकिर गर्नुभयो ।


मध्यपश्चिम विश्वविद्यालय,ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ अन्तरगत यहि पौष ३ गतेवाट संचालन भएको ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ तर्फ स्नातक तह छैटौ समेस्टरको डिजाइन अफ स्टील स्टकचर विषयको प्रश्नपत्र परिक्षा संचालन हुनु अगावै बाहिरिए पछि उक्त विषयको परिक्षा रद्द गरि प्रश्नपत्र चुहावटको छानविन गर्न समिती गठन गरिएको थियो । छानविन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख र सम्बन्धीत इन्जिनियरिङ शाखामा काम गर्ने ५ जना अन्य कर्मचारीहरुलाई छानविन समितिको अन्तीम प्रतिवेदन प्राप्त नभए सम्मका लागि निलम्बन गरिएको उपकुलपति सिंहले जानकारी दिनुभयो ।

स्थगन भएका ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ अन्तरगत सिभिल, कम्पयुटर तथा हाइड्रोपावर विभागका परिक्षाहरु नयाँ तालिका अनुसार संचालन गर्नका लागी नयाँ परिक्षा ब्यवस्थापन प्रमुख सहित अन्य कर्मचारीको ब्यवस्था गरिएको सिंहले जानकारी दिए । परिक्षाको प्रश्नपत्र वाहीरिएपछि विद्यार्थीहरुले परिक्षा ब्यवस्थापन कार्यालयमा तालावन्दी गरेका छन । उपकुलपति सिंहले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न कर्मचारीहरुलाई कारवाही स्वरुप निलम्बन गरि नयाँ ब्यवस्थापन गरिएको हुनाले परिक्षा ब्यवस्थापन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गर्नुभएको छ ।

परिक्षा सकिएको एक महिनाभित्र रिजल्ट आउने
मध्यपश्चिम विश्वविद्यालयका हरेक परिक्षाका रिजल्टहरु परिक्षा भएको एक महिना भित्र आउने उपकुलपति प्रा.डा. सिंहले वताउनुभयो । हाल संचालन गरिका परिक्षाहरु केन्द्रिकृत परिक्षा प्रणालीवाट संचालन भएकाले रिजल्ट ढिलो आउने गरेको हो, यसवाट विद्यार्थीलाई मर्का पर्ने गरेको भन्दै अवदेखि परिक्षा भएको एक महिना भित्र रिजल्ट आउने सिंहले वताउनुभयो ।
विश्वविद्यालयले परिक्षाको रिजल्ट सम्बन्धीत डिनको कार्यालयवाट आउने गरि ब्यवस्थापन गरेको पनि जानकारी दिनुभयो । सिंहका अनुसार अवदेखि विश्वविद्यालयका प्रत्येक डिनको कार्यालयले आफनो जिम्मेवारी रिजल्ट प्रकाशित गर्नेछ । यस अघि रिजल्ट लगाएतका परिक्षा सम्बन्धी कामहरु परिक्षा ब्यवस्थापन कार्यालयले गर्दै आएको थियो ।

प्रकाशित मितिः 2023-12-31     3:46:37 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *