१६ पुस, काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।
सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । आयोगका सदस्यमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन । आयोगलाई एक महिनाको समयसिमा दिइएको छ ।
मन्त्री शर्माका अनुसार आयोगले घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययनर विश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने, उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने, आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेश गर्नेछ ।
यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । सोही दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएको थियो ।