माओवादीकोे विशेष रूपान्तरण अभियान आज समापन हुने

काठमाडौँ,१६पुष । नेकपा (माओवादी केन्द्र) ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो ।

बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा अभियान सञ्चालन गरेको हो । यसअघि मंसिरको १६ गते समापन गर्ने भनिए पनि माओवादीले अभियान एक महिना थप गरेको थियो । पालिकास्तरमा जनपरिचालन गरी अभियान समापन हुने केन्द्रीय उपमहासचिव एवं सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले बताए ।

बागमती प्रदेशको हकमा तीन प्रदेशको समन्वयमा अभियान सञ्चालन गर्ने तयारी भएको पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार सबै पालिकामा जनपरिचालन गरेर समापन गर्ने तयारी भएको छ । बागमतीमा बागमतीसहित, सम्पर्क समन्वय, उपत्यका विशेष प्रदेशले संयुक्त रुपमा समापन हुनेछ ।

तीन महिने अभियान औपचारिक रूपमा सोमबार समापन भए पनि यसको मूल लक्ष्य प्राप्त भएको छैन । पहिलो संगठनको काम, दोस्रो जनसेवा, तेस्रो उत्पादन, चौथो सामाजिक सञ्जाललाई परिचालन गर्न दक्षता हासिल गर्ने र पाँचौँ जीवनशैली बदल्ने काम नियमित रूपमा यसमै केन्द्रित रहेर लैजानुपर्छ’, उनले भने ।
अभियान सुरु मात्र भएको भन्दै उनले यसलाई एउटा तहमा नपुगेसम्म निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । अभियान समापनको विषयमा केन्द्रीय स्तरमा कुनै कार्यक्रम तय नभएको उनले बताए । यसअघि अभियान उद्घाटन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल प्रविधिमार्फत सबै पालिकामा एकसाथ गरेका थिए ।

प्रकाशित मितिः सोमवार, पुस १६, २०८०     10:25:22 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *