सुर्खेत १६ पुष / बालकुमारी घटनाका विरुद्ध दवाव दिनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई घेराउ गरिने भएको छ ।
मृतकका आफन्तहरुको पिडित संघर्ष समितिले सरकारलाई दवाव दिनका लागि आज जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यालय घेराउ गर्ने जनाएको छ ।
सुर्खेतको जिल्ला प्रशासन कार्यालय घेराउ संगै विभिन्न विषयहरु समावेश भएको मागपत्र पनि पेश गरिने संघर्ष समितिका अगुवा रेखा थापाले जानकारी दिइन । उनका अनुसार मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही कारवाही गर्नुपर्ने, मृतकका परिवार लाई रोजगार, घाइतेको उपचार गर्नुपर्ने लगायतका विभिन्न मागहरु रहेका छन ।
ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखको महावु गाउँपालिका वडा नंं ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
हत्या विरोधमा आज सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको आन्दोलनका अगुवा थापाले जानकारी दिइन । मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आज सोमबार जिल्लामा सरकारी गाडी चल्न नदिने तथा जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम तय गरिएको हो ।
वीरेन्द्रनगरको मंगलगढी चोकमा यूवाहरु जम्मा हुने र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी भएको मृतकका आफन्तले जनाएका छन ।