
गोरखा, भदौ २३। जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको छ।
कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपिल गर्नुभयो ।
“म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु। तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्,” प्रचण्डले भन्नुभयो ।
जनसंवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
काठमाडौं सहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।
